एउटा किसानको सफलताको कथा, च्याउ खेतीबाट पचास लाखमा तीन कठ्ठा जग्गा, कारमा सरर

चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउँछन् । साइकलमा च्याउ डुलाउँथे, अहिले गाडीमा हिँड्छन् । च्याउ बेचेरै जग्गा समेत जोडे।   कन्ने र गोब्रे च्याउ लगाउँदै आएका उनले दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्छन् । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भने – ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ । 

  विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए ।    त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झन्छन् । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्छन् उनी।सामान्य खेती किसानी गरेर जीविका चलाउन उनलार्इ पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको उनले बताए।   च्याउबाट खर्च कटाएर मासिक रु १ लाख न्यूनतम कमाई हुने उनको भनाइ छ ।उनले प्रतिकिलो रु १२० मा थोकमा च्याउ बेच्छन् । बजारमा खुद्रा मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गरे। ‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भने– अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उनले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन ।झुप्रोबाट खेती शुरु गरेका उनको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उनले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहेका छन्।  उनलार्इ पत्नी सीता केसीले सघाउँछिन् । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भनिन् । च्याउको मौसमका बेला १२/१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसकेका छन्।
  विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उनले तीन प्याकेट च्याउको बीऊ र रु १० हजार बराबरको सामग्री पाएका थिए । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भने । विस्तारै उनले खेती बढाउन थाले । शुरुमा उनीसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उनले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउँथे   बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उनीसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी विताए उनले । साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उनले खेती विस्तार गरे।    ‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसीले भने – त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उनले साइकल छाडेर मोटरसाइकल किने । त्यसमै राखेर च्याउ बेचे ।   अहिले उनी कारमा च्याउ लैजान्छन् । पहिले साइकलमा गाउँगाउँ डुलाउने उनलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लैजान्छन्। सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ ।    अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्छन् । उनलाई १२ /१४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेच्छन् । विभिन्न स्थानबाट बीऊ लिन उनी कहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन् । लागत अनुसारको मूल्य नपाउँदा भने उनी अलि दुःखी छन् ।    शुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले दुःखेसो गरे । तैपनि अहिले यो पेशामा उनी सन्तुष्ट छन्।च्याउखेती सिकेर उनले सीप समेत बाँडे । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसी बताउँछन् । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उनी परिचित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *