प्रदेश ३ को राजधानी चितवन !

विप्लव काफ्ले
भरतपुर,२ जेठ ।झण्डै एक दशकअघि देशकै ‘वैकल्पिक राजधानी’ बनाइने भन्दै चासोमा परेको चितवन फेरि ‘प्रदेश राजधानी’ बन्ने चर्चा सुरु हुन थालेको छ । ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समिति शुक्रबार चितवनको वस्तुस्थितिबारे जानकारी लिन आएसँगै फेरि चर्चा चुलिएको छ ।
समितिले जिल्ला समन्वय समिति चितवनको कार्यालयमा राय सुझाव लिएको छ । यस्तै बागेश्वरी, दियालो बंगाला, जिल्ला स्थित विषयगत कार्यालयका भवनसमेत स्थलगत अवलोकन गरेको छ । “चितवनबासीले चितवन प्रदेशको राजधानी चाहेका छन्, त्यो हामीले बुझेका छौँ”, विशेष समितिमातहतको प्रतिवेदन लेखन समितिका संयोजक विशाल खड्काले भने, “प्रदेशलाई सहज हुने किसिमले राजधानी बनाउनुपर्छ । हामीले संकलित विवरणसहितको प्रतिवेदन बुझाउने छौँ । ‘हाउस’ ले नै निर्णय गर्नेछ ।”
आफूले प्रतिनिधित्व गरेको भूगोल बिर्सिएर समग्र प्रदेशको विकास र समृद्धिलाई ख्याल गरी प्रदेश राजधानी तोकिने उनले बताए । उनले विशेष समितिले प्रश्नावलीनै पठाएर जिसस चितवनसँग विवरण संकलन गरेको बताए । विशेष समितिका सदस्य छिरिङ दोर्जे लामाले चितवनमा भएका सरकारी संरचना, जग्गाको प्रमाणित विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । “हामीले नै यता वा उता प्रदेश राजधानी बन्छ भनेर बोल्न आचारसंहिताले दिदैन”, उनले भने, “प्राप्त विवरण, अध्ययनबाट निष्कर्षसहितको प्रतिवेदन बुझाउछौँ । त्यसपछि प्रदेशसभाले निर्णय लिनेछ ।”
विशेष समितिका सदस्य विजय सुवेदीले चितवनसहित नुवाकोट, काभ्रे, भक्तपुर, रसुवाको साधनस्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले प्रदेश राजधानी बारे सोधिएका १ सय २१ वटा प्रश्नावलीको जवाफ संसद सचिवालयमा बुझाइने बताए । “२÷३ दिनमा सबै विवरण पठाइने छ”, उनले भने, “३÷४ सय मिटर नजिकै सबै मन्त्रालय राख्न मिल्ने पूर्वाधार छन् । चितवन प्रदेशको राजधानी कायम भए केन्द्रीय राजधानी सरह देखिनेछ ।”
बैशाख १४ गते गठन भएको विशेष समितिले ३० गतेबाट काम सुरु गरेको थियो । समितिले असार ११ गतेभित्र प्रदेशसभामा प्रतिवेदन पेश गर्नुपर्ने छ । प्रदेश नम्बर ३ को राजधानी माग गर्दै चितवनका सांसद्ले जेठ २० गते, काभ्रेका सांसद्ले गत चैत १४ गते, नुवाकोट र रसुवाका सांसद्ले १५ र भक्तपुरका सांसद्ले २६ गते छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए ।


चितवन उपयुक्त
प्रदेश नम्बर ३ को राजधानी चितवन सबैभन्दा उपयुक्त हुने चितवनका अगुवाहरुले दावी गरेका छन् । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले आयोजना गरेको छलफल कार्यक्रममा विगतमा देशकै वैकल्पिक राजधानीको चर्चा चलेकाले प्रदेश राजधानी बनाउनुपर्ने बताए । चितवनलाई वैकल्पिक राजधानी बनाउने, पछि देशकै राजधानी बनाउने दलका विगतका अभिव्यक्ति फेरिएर केही वर्षयता ‘आर्थिक राजधानी’ बनाउने भन्नेमा मोडिएको अवस्था थियो ।
“देशकै राजधानी भनिरहेका बेला प्रदेशको राजधानी नहुने भन्ने छैन”, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्, “वैज्ञानिक विधिबाट मापदण्ड सहितको सूचक बनाऔँ । यो गर्दा चितवन अग्रस्थानमा देखिनेछ ।” नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवनमा प्रदेशका कार्यालय तथा मन्त्रालय राख्न भवन र जग्गा अभाव नहुने बताए । “चाहिएजति जग्गा भवन छ”, उनले भने, “प्रदेशको छेउमा पर्छ भनेर अन्तै राजधानी नतोकियोस्, छेउमा परेपनि यो सबैभन्दा उपयुक्त छ ।”
नेकपाका नेता बद्री तिमिल्सिनाले चितवन तीव्र विकासमा अघि बढेकाले राजधानी अन्यत्र बनाउन नहुने बताए । “मितेरी मार्गका रुपमा ठोरी केरुङ मार्ग बन्ने क्रममा छ । जसले चीन र भारत जोड्ने छोटो मार्ग हो”, उनले भने, “रसुवा, धादिङबाट काठ्माण्डौ जान भन्दा चितवन आउन छोटो दुरी पर्छ”, उनले भने, “बागेश्वरी र दियालो बंगाला क्षेत्रका थुप्रै प्रयोग विहिन भवन उपयोगमा ल्याउन सकिन्छ ।” यातायात व्यवसायी रामप्रसाद सुवेदीले चितवन यातायातका दृष्टिले उपयुक्त रहेको बताए ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले विगतमा राजधानीको आशा मरेका बेला फेरी आशा पलाएको बताए । शिक्षाविद् रमाकान्त सापकोटाले प्राविधिक राखेर मुल्यांकन आधार बनाउन सूचक बनाएर निक्र्यौल गरिए चितवननै उपयुक्त देखिने बताए । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भरतपुर नारायणगढ क्षेत्रमा मात्रै करिव ३ सय विघा सार्वजनिक जग्गा रहेको बताए ।
“प्रदेश सरकारलाई आवश्यक पर्ने भवन जग्गा तत्काल व्यवस्थापन गर्न सकिने पूर्वाधार छन्”, उनले भने, “यहाँको सुगमता र अरु जिल्लासँग जोडिने सडक सञ्जालका आधारमा चितवननै उपयुक्त छ ।” चितवन उद्योग संघका पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारीले पाहुना थेग्न सक्ने, यातायातको पहुँच, पूर्वपश्चिमको मध्यभाग भएकाले चितवनमै राजधानी उपयुक्त हुने बताए । सो अवसरमा प्रदेश सांसद घनश्याम दाहाल ‘अविनास’, कृष्णप्रसाद खनाल, बलराम पौडेल, कृष्ण भुर्तेल, रामलाल महतो, कञ्चन खनाल, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, राप्रपा (प्रजातान्त्रिक) का प्रेम गैरे, राप्रपाका जीवलाल पुरी, नेपाल मजदुर किसान पार्टी चितवनका अध्यक्ष हरिप्रसाद दुलालले चितवन प्रदेश राजधानी बन्न उपयुक्त भएको बताए । चितवनमा चर्चामा रहेको मेडिकल सिटी, सौराहा, मेघौली देवघाट जस्ता पर्यटकीय गन्तव्य, सञ्चालनमा आएको औद्योगिक प्रदर्शनी केन्द्र, निर्माणाधिन शक्तिखोर औद्योगिक क्षेत्र, नारायणी राप्ती जस्ता ठुला नदी, निर्माणाधिन काठ्माण्डौ हेटौडा सुरुङ मार्ग, राष्ट्रियस्तरको क्यान्सर अस्पताल, कृषि तथा वनविश्वविद्यालय लगायतका थुप्रै संरचना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *