कंग्रेस महासचिव प्रियंकाले डुंगामा सयर गर्दै सुरू गरिन् गंगायात्रा

भारतीय राष्ट्रिय कंग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरू गरेकी छन्।

उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरू गरेकी भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनको यात्रा काशीसम्म हुनेछ।

‘गंगा मैँयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,’ महासचिव प्रियंकाले पत्रकारहरूसँग भनिन्।

उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरूसँग यात्रा गरेकी छन्। यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जानेछिन्।

उनको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरू सहभागी भएका छन्।

गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रूपमा लिइएको छ। आम नागरिकलाई राजनीतिक नेताहरूले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताएकी छन्।

भ्रमणका क्रममा उनले माझी र नदीका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्नेछिन्।

‘यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ,’ उत्तर प्रदेशका कंग्रेस अध्यक्ष राज बाब्बारले ट्वीटरमा लेखेका छन्।

यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले ‘सच्ची वात, प्रियंकाके साथ’ भन्ने नारा तय गरिएको छ।

स्टीमर डुङ्गाबाट हुने उनको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरूले बताएका छन्। भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ। (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *