पीडित प्रचण्ड!

प्रचण्ड अहिले अमेरिकामा छन्। आफ्नी बिरामी पत्नी सिता दाहालको उपचारार्थ अमेरिका आएका प्रचण्डको अमेरिका आगमनलाई यहाँका केही नेपालीहरूले आफ्नो मनको पिडा र आक्रोश पोख्ने अवसरको रूपमा लिएको देखिएको छ। सामाजिक सञ्जालमा राखिएका ‘स्ट्याटस’ र सँगै जोडिएका तस्बिरहरूले प्रचण्डलाई एक युद्ध अपराधीको रूपमा देखाइएको छ।

सायद, प्रचण्डलाई गाली गर्नेहरूको तर्क सही पनि होला। प्रचण्डका कारण हजारौँ नेपाली परिवारहरूले जीवन कै नमिठो र जीवन भर नमेटिने पिडा भोगेका छन्। लाखौँ परिवारहरू विस्थापित भएका छन्। जनताका नाममा भएको युद्धले नेपाललाई दशौँ वर्ष पछाडि धकेलेको नबिर्सनेहरूका लागी प्रचण्ड विरुद्धको सामाजिक सञ्जालमा छताछुल्ल आक्रोश एक अर्थमा जायज पनि होला।

सिउँदो लुटिएकी युवती, टुहुरो बनाइएका नेपाली बाबु-नानीहरू, काख रित्तो बनाइएकी आमाहरूले मात्र राम्ररी बुझेका छन् – नेपालको युद्धको पिडा। प्रचण्डको अचानोको प्रहार ती अबोधहरुमाथीहरु परेको थियो राज्यका नाममा या माओवादीका नाममा।

हिजो ती अबोधहरू पीडित थिए, तर आज प्रचण्ड पिडामा छन्। बलवान समयको चक्र त हो- प्रचण्ड आफै पीडित छन् । कल्कलाउदो उमेरको जवान छोरोको मृत्युले टुटेका प्रचण्ड अहिले आफ्नी धर्मपत्नीको रोगले झन् विक्षिप्त छन्।

एक पिता वा पतिको रूपमा प्रचण्डको जीवन दुखदायी छ।

सत्ता, शक्ति र शामर्थले भरिभराउ प्रचण्डको जीवनमा व्यक्तिगत शान्तिले ठाउँ पाएन। दुनियाँ जितेको देखिने प्रचण्ड व्यक्तिगतरुपमा एक पराजित पुरुष हुन्। प्रचण्ड अभागी पिता हुन्- मनको अशान्ति र वेदनाले भरिएका एक दयाका पात्र जसले पुत्रको चिता जलायो।

तर, ‘आई फर एन आई’ सिद्धान्तले अभिप्रेरित हामी केहीलाई सायद मानवीय समवेदनाले छुँदैन। प्रतिशोधको ज्वालामा रन्किएका हामी केहीलाई सायद अरूको पिडा भन्दा पनि आफ्नो पिडा महत्त्वपूर्ण लाग्छ। अर्काको पिडा थोरै पनि आफूले महसुस गरे सायद दुनियाँको झगडा एक मिनेटमा सकिन्थ्यो होला।

तिमीलाई दुख्ने घाउ मलाई थोरै मात्र महसुस हुने भए सायद म तिमीलाई कहिल्यै दुख दिने थिएन। अर्काको पिडामा मल्हम लगाउन नसके पनि बुझ्न मात्र सके दुनियाँको शान्ति अत्यन्त सहज थियो।

मानवलाई पशुत्वबाट जोगाउने एक मात्र तत्त्व यही भावना हैन र ? तर, पशुत्वले छोएका हामी मानव त कम्जोरलाई नै प्रहार गर्छौ।

१७ हजार प्राणको आहुति प्रचण्ड एक्लैले दिएका होइनन्। यो कालो इतिहास लेख्ने काम प्रचण्ड, बाबुराम, देउवा, गिरिजा, माधव, वामदेव, कमल थापा लागएतका दर्जन बढी नेताहरूले सामुहिकरुपमा गरेका हुन्। तर पनि, अहिले तारोमा परेका छन् रोगी श्रीमतीका श्रीमान् प्रचण्ड।

सामाजिक सञ्जालमा आफ्नो मनको पिडा ओकेलेर आखिर के नै पाइन्छ र ? क्षणभरको मन शान्ति बाहेक। सत्य परिवर्तन हुँदैन हाम्रा दुई-चार अशिष्ट ब्याबहारले। पर्दा पछाडि बसेर धारे हात लाउन जति सजिलो छ त्यति नै असजिलो छ ‘फिल्ड’ मा गएर सुधारमुखी काम गर्न। यथार्थ बदल्न इतिहास लेख्नु पर्छ। सामाजिक सञ्जालमा लेखिने ‘क्षण-भंगुर’ दुई- चार लाइनले विचार होइन, हाम्रो मनोदशा देखाऊछ।

‘चिप पपुलारिटी’का लागी नाङ्गो नाच काफी छ। मार्केटमा बिक्ने दुई-चार अशिष्ट शब्दहरू राखेर गरिएको विरोधले सायद कुनै असन्तुष्ट पक्षको आत्मा सन्तुष्ट गरेको हुनु पर्छ

त्यही भएर होला, प्रचण्डको पछिल्लो भ्रमणको औचित्य सँग सत्प्रतिसत जानकार हुँदा हुँदै पनि गालीगलोजमा उत्रन छोडेनौ। रोगी श्रीमतीको उपचारमा लागेका प्रचण्डमा हामीले एक निरीह पति देखेनौ। हामीले केवल तत्कालीन माओवादी ‘आतंकारी’ का नाइके प्रचण्डलाई देख्यौ। सायद दोष हाम्रो नजरको हो।

पूर्वग्रहको ग्रहणले ग्रसित हाम्रो नजरले के नैतिक, के अनैतिक छुट्ट्याउन सकेन।

विरोधको पनि एक अनुशासन हुन्छ। एक विधि हुन्छ। हामीले छोडेको मुलुक नेपालको एक ‘सर्वोच्च नेता’, जो प्रधामन्त्री समेत भैसकेको छ, उसको विरोधमा ‘जनयुद्ध’कालीन कालो इतिहास लेखेर हामीले कतै आफ्नै मानसिकता त नाङ्गो पारिरहेका छैनौ ? पूर्वाग्रहले छोपिएका नजरले देखिने दृश्यहरूमा दोष दृश्यको होइन , निश्चितरुपमा दृश्यकको छ।

आफ्नो ‘इलाका’मा त भुस्याहा कुकुरहरू पनि आफूलाई शक्तिमान ठान्छन् क्यार। त्यही भएर होला उनीहरूको भुकाइमा चर्कोपन सुनिन्छ। सिंहले त आफ्नो सिकार मिर्गहरुको इलाकामा उनीहरू कै झुन्ड बिच गएर गर्छ।

श्रीमतीको उपचारमा आएका एक पति तथा नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाली जनता र विश्वले स्वीकारेका प्रचण्डको विरोधमा अशभ्यता देखाउनुको कुनै अर्थ छैन। यसले हाम्रो स्तर बढ्ने छैन। क्षणभरका लागी प्रचण्डको विरोधमा गरिएको गालीले कसैलाई शान्ति दिएपनि त्यसले गालिगर्नेहरूकै मानसिक स्थिति देखाउने छ।

कसैलाई लाग्ला, लेखक त प्रचण्डको भक्त रहेछ। गलत।

प्रचण्डको ‘क्रान्ति’ का कारण, अप्रत्यक्ष रूपमा, पिता गुमाउने एक पुत्र हुँ म। रेडियो नेपालमा एकै दिन र एकै पटक नितुक्ती पत्र लिएका डेकेन्द्र थापा जस्ता पत्रकार गुमाउने एक अभागी मित्र हुँ म। राष्ट्रिय समाचार समितिमा कार्यरत हुँदा तत्कालीन पृतनापति रुपाङ्गत कटुवाल सँग सेनाको हेलिकप्टर चढेर सेनाले दुर्गम गाउँमा गर्ने स्वास्थ्य शिविरका बारेमा समाचार लेख्दा स्थानीय जनसरकारको चिठी प्राप्त गर्ने पत्रकार हुँ म। राज्य र मावोबादीका कारण ज्यान गुमाएका नेपाली नागरिकका टुहुरा-टुहुरीहरूलाई गास, बास र कपासका लागी पश्चिम नेपालको नेपालगन्जमा खोलिएको ‘सहारा बाल गृह’ सञ्चालन गर्ने क्रममा अमेरिकन दूतावासको सहयोग लिएपछि ‘अमेरिकन स्पाई’ को आरोप लागेको एक स्वयंसेवी हुँ म।

नेपालको युद्धलाई नजिकबाट देखेको मात्र हैन, विभिन्न रूपमा भोगेको छु , महसुस गरेको छु। र पनि रोगी श्रीमतीको उपचारमा आएका प्रचण्ड प्रतिको अशिष्टता हाम्रो योग्यता भन्दा धेरै तल छ भन्ने विश्वास गर्दछु।

कारण?

हामी हिजो प्रचण्ड पीडित थियौँ , आज प्रचण्ड आफै पीडित छन्।

पीडित प्रचण्ड!

Leave a Reply

Your email address will not be published. Required fields are marked *