दिगो विकासका लागि कमलपोखरीको अस्तित्व खोजी

राजेशकुमार अर्याल

‘शिवरात्रीको मेला भर्न आउने धार्मिक व्यक्तिहरु शिवालयमा सूर्य कुण्डको जल चढाउँथे । कमलको फुल टिप्थे, मन्दिरमा चढाउँथे । प्रभासमा विशाल कमलपोखरी थियो । माथि सोता तल कमलपोखरीमा नीलो रह देखिन्थ्यो । कमल फुल्थ्यो, फुल टिप्न मानिसहरु टाढाटाढाबाट आउथे । कमलको फूलभित्र हुने फल मानिसहरुले खान्थे । पोखरीमा पौडी खेल्थे । पोखरी अहिले जस्तो मिचिएको थिएन । यस्तो दुर्गन्ध पनि थिएन । सङग्लो पानी देख्ने वित्तिकै पानीमा पसौँ पसौँ लाग्थ्यो । कमलपोखरीको बीच भागमा गहिरो रह थियो, छेउछाउतिर सिमसार क्षेत्र थियो । यहाँ जंगली धान पाइन्थ्यो । छिता धान नेपालकै पुरानो धान रहेछ, अहिले त्यो पनि मासियो ।’


‘कमलपोखरी ठूलो थिएन । सिद्धार्थ राजमार्ग खन्दा कमलपोखरी बाटोले खायो । पोखरी पुरियो । राजमार्ग बनाउँदा मास्तिरको पानी बग्न पाएन । पानी जम्यो । खेत ताल बन्यो । कल्र्भटबाट पानी जान्न । पानी थुनिएपछि खेतीयोग्य जमिन ताल बन्यो । यी सबै प्रभास खेत हुन् । खेतीपाती गर्न नसकेर र नगरेर कमल फूल्न दिएका मात्र हौँ । हामीसँग पुरानो बकसपत्र छ । खेतको लालपूर्जा छ । व्यक्तिगत सम्पत्तिलाई सार्वजनिक ताल भन्न कहाँ पाइन्छ ? आफ्नो जग्गा खार्न वा पुर्न किन नपाउनु ? मज्जाले पाइन्छ ।’

पाल्पाको प्रभास ताल (कमलपोखरी) को चर्चा यतिखेर उत्कर्षमा छ । लोकसेवा आयोगको परीक्षाको तयारी गरेका र परीक्षा उत्तीर्ण गरेका हरेक नेपालीले संझिएको हुनुपर्छ नेपालका ताल तलैया मध्येको एक हो प्रभास ताल । कमलपोखरी सत्य हो कि मिथ हो यतिखेर छलफल चलेको छ । प्रभास क्षेत्र कति पुरानो हो । शिवालय, कमलपोखरी र सूर्यकुण्ड कहिलेका हुन् । प्रभास बगैंचा र कमलपोखरी बीचको के साइनो छ । शिवरात्री मेला प्रभास क्षेत्रमा कहिलेदेखि लाग्थ्यो । प्रभास नै किन रोजियो । व्यक्तिगत भोगका जमिन हुन् कि सार्वजनिक भोगचलनका जग्गा हुन् यी ? हिजोआजका भोग हुन् कि युगदेखिका ? शिलालेख, तेरिज र अभिलेखहरु होलान् ? ऐतिहासिक कृति र दस्तावेजहरुमा प्रभास वर्णन गरिएका होलान् । कमलपोखरीको इतिहास के हो ? वर्तमान के हो ? अध्ययन अनुसन्धान गर्न सकिन्छ । बुढापाकाको स्मृतिपट संझन सकिन्छ । जिम्माल र मुखियाका स्रेस्ता भिडाउन सकिन्छ । जग्गा प्रशासनका पानाहरु फर्काउन सकिन्छ । विगतका प्रशासकहरुको कहानी र भूमिका फर्केर हेर्न सकिन्छ । आजका भूमि प्रशासकहरुको योग्यता, सीप र दक्षता उपयोगमा ल्याउन सकिन्छ । सत्य के हो ? भ्रम के होे ? साँचो कुरा के होे ? झुठ कुरा के हो ? पत्ता लगाउन सकिन्छ । समय र मेहनत चाहिन्छ, यथार्थ कुरा ल्याउन सकिन्छ ।


एउटा सत्य यो प्रभास तानसेनको नजिक र राजमार्ग सँग जोडिएकाले व्यापारिक महत्वको क्षेत्र हो । यसको चित्ताकर्षणमा २०६३ सालमा प्रभासमा लुम्बिनी मेडिकल कलेज स्थापना भयो । कलेजमा बिरामीको चाप र विद्यार्थीको आवागमनपछि बन्दव्यापार, व्यवसाय र होटलहरु प्रभासमा खुले । ठूला साना, धनी गरिव, जिल्लाबासी बेजिल्लाबासी सबैको मोह प्रभासमा जग्गा किन्ने रहन जाग्यो । फैलदो व्यवसाय र जमिनको आवश्यकताले प्रभास क्षेत्रका जग्गाको महत्व यतिधेरै बढ्न पुग्यो । जग्गा बेच्ने र परिचालन गरेर पैसा कमाउने रहरले पनि प्रभासमा सबै क्षेत्रका मानिसको आँखा प¥यो । जग्गा खरिद बिक्रीको प्रभाव प्रभास क्षेत्रमा प¥यो । प्लटिङ खेती प्रभासबासीका लागि साँच्चिकै फाइदाजनक रह्यो कि नोक्सानी भविष्यमा तुलनात्मक अध्यययन निर्मम समीक्षा गर्ने दिन आउला । त्यो पर्खाइसम्म कुर्दा प्रभासको कमलपोखरी नासिनेछ, एउटा इतिहासको अन्त्य हुनेछ ।


यो पनि सत्य हो, जति जमिन मूल्यवान हुँदै गयो त्यति सार्वजनिक र सरकारी जमिनको खोजी हुन थाल्यो । विकासकै चाहमा सौन्दर्यस्थल र ऐतिहासिक स्मारकहरुको खोजी हुन थाल्यो । त्यसकै उपज हो प्रभासको कमलपोखरी । कमलपोखरी आफैमा सिमसार क्षेत्र हो । सतह र पानीमा भएका दूषित र फोहर पदार्थ सोसेर लिने र पानी सफा राख्न यो सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मानिसहरु सिमसार क्षेत्रलाई पृथ्वीको मृगौला पनि भन्दछन् । प्रभास क्षेत्रको सहरीकरणको दिगोपनका लागि पनि कमलपोखरी जस्ता सिमसार क्षेत्रको संरक्षण जरुरी छ ।


अर्को सत्य यो पनि हो तानसेन नगरपालिका ७ प्रभास क्षेत्र सेनकालीन राज्यको लिखित दस्तावेज हो । प्रभासका शिवालय मन्दिर, कमलपोखरी र सूर्यकुण्ड पाल्पाली इतिहासका विरासत हुन् । शिवालय मन्दिरमा रहेको शिलालेखले यसको इतिहास र महत्व उजागर गर्दछ । तत्कालीन बर्तुङ पञ्चायतका प्रधानपञ्च रहेका ठाकुरचन्द्र विप्र आँखामा विशाल कमलपोखरी छ । ‘नीलो रहमा सुन्दर कमल फूल्ने हुनाले स्थानीय बासिन्दाहरु पौडी खेल्ने र कमलको फूल टिप्ने गरेको दृष्य मानसपटलमा अझ ताजै छ ।’ प्रभासको बगैंचामा शिवरात्रीको मेला हेर्न जानेहरु कमलपोखरी घुमेर आनन्द नलिने को हुन्थ्यो र ?


पञ्चायतकालमा कमलपोखरी खोज्नेक्रममा ३३ रोपनी जग्गा खरिद गरेर मस्यपालन आरम्भ गरेको थलो हो यो प्रभास । बहुदलको आगमन पश्चात् नैनीतालसँग तुलना गरेर डुंगामा शेयर गराएर पर्यटक भित्र्याउने सपना देखिएको भूगोल हो प्रभास । कमलपोखरीको पुष्पार्पण र सूर्यकुण्डको जलार्पण गर्ने धार्मिक रुपमा पसिद्ध शिवालय रहेको प्रभास क्षेत्र सबै पाल्पाका निम्ति एउटा पवित्र, सुन्दर र रमणीय क्षेत्र थियो । धेरैले देखेको र अनुभूत गरेको कमलपोखरीमा डोजर लगाएर माटो थुपार्ने, ताल पुर्ने र अग्ल्याएर घडेरी बनाउने कार्यआरम्भ भएपछि वहशले चौघेरा नाघेको छ । सूर्यकुण्ड मिचेर महल बनाउनेहरुले न नक्सापास गरेर ठड्याए न अहिले ‘ताल’ पुर्नेहरुले सिमसार मास्ने कार्यको अनुमति नै लिन चाहे । प्रदुषणले ‘ताल’ बेतालकै बनेकोे थियो । निरव रंग उडेको कमलपोखरीमा नीलो रंग भर्न सकिन्थ्यो्सकिन्छ । आवश्यक ठानेका दिन भूतबंगाला बनेका घरहरु जीर्णोद्वार गरेर राज्यले चित्ताकर्षक महल बनाएको छ । रंग उडेको बगैंचालाई स्वप्न बगैँचा बनाएर धुँवारहित उद्योग चलाएको छ । प्रभासको इतिहास केलाउने र भविष्य पहिल्याउन सक्ने हो भने कमलपोखरी साझा प्राकृतिक सम्पत्ति हो यसको संरक्षण आवश्यक छ भन्ने क्षण छिट्टै आउनेछ । शिवरात्री मेला भर्न जानेहरु जो कोहीले पनि प्रभासका यी सुन्दर प्राकृतिक छटाहरुको संझना गर्ने छन्, संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउने छन् ।

 

 

पाल्पाका सुन्दर तालहरु


नेपालमा अनगिन्ति तालहरु रहेका छन् । तालहरु भनेका जलस्रोतका मुहान हुन र विभिन्न खालका जीवजन्तुको बासस्थल पनि हुन् । नानाथरीका चराचुरुङ्गी, बकुल्ला, पानीहाँस, कराङ्गकुरुङ्ग चराहरुको बासस्थल पनि तालहरु नै हुनेगरी मानव जीवनका लागि बरदानका रुपमा रहेका छन् । हाम्रा पुर्खाहरुले ताल पोखरीको महत्व बुझेका थिए । त्यसैले डाँडा, काँडा, फाँट, टार, मैदानमा समेत ठूला ठूला पोखरीहरु निर्माण गरेर रातोमाटो वा कालोमाटोले लिपेर वर्षातको पानीलाई संरक्षण गर्ने प्रविधिलाई अगाडी बढाएका थिए । त्यही पानी खाएर जीवजन्तु प्राणीहरु बाँच्दथे ।