पाल्पाका सुन्दर तालहरु


नेपालमा अनगिन्ति तालहरु रहेका छन् । तालहरु भनेका जलस्रोतका मुहान हुन र विभिन्न खालका जीवजन्तुको बासस्थल पनि हुन् । नानाथरीका चराचुरुङ्गी, बकुल्ला, पानीहाँस, कराङ्गकुरुङ्ग चराहरुको बासस्थल पनि तालहरु नै हुनेगरी मानव जीवनका लागि बरदानका रुपमा रहेका छन् । हाम्रा पुर्खाहरुले ताल पोखरीको महत्व बुझेका थिए । त्यसैले डाँडा, काँडा, फाँट, टार, मैदानमा समेत ठूला ठूला पोखरीहरु निर्माण गरेर रातोमाटो वा कालोमाटोले लिपेर वर्षातको पानीलाई संरक्षण गर्ने प्रविधिलाई अगाडी बढाएका थिए । त्यही पानी खाएर जीवजन्तु प्राणीहरु बाँच्दथे ।

त्यही पोखरीको पानी सोसीएर, चुहिएर बरपर जाँदा पानीका मुलहरु सदावहार रहन्थे । यसले गर्दा बोट विरुवाहरु पानीको रसान पाएर हरिलो भरिलो हुन्थे । पाल्पाका डाँडाकाँडामा धेरै पोखरीहरु छन् तर ती पोखरीहरुको महत्वलाई आजकाल हामी खुव बुझ्ने भयौं भन्नेहरुले संरक्षण गर्नतिर कम लागेकै कारण पोखरीहरु सुक्दै गएको देखिन्छ । जसको परिणाम स्वरुप खानेपानीका मूलहरु पनि सुक्दै जान थालेका छन् । पोखरीहरु निर्माण गर्नु बर्षात्को पानी संकलन गर्नु भनेको वातावरण संरक्षण गर्नु पनि हो । पाल्पा जिल्लामा केही यस्ता तालहरु छन् जसको संरक्षण मात्र गर्न सके पाल्पाको पर्यटनमा कोशे ढुङ्गा हुनेछ ।


सत्यवती ताल : यो ताल महाभारत पर्वत श्रृंखला अन्र्तगत कोलडाँडा गाविसमा पर्छ । यो तालको अनुमानित क्षेत्रफल ५ हेक्टर छ । प्राकृतिक रुपमा अत्यन्त महत्वपूर्ण छ । जैविक विविधताले भरिपूर्ण छ । यो तालमा पानी हाँसहरु टाढा, टाढाबाट मधेशतिरबाट आएर बस्ने गर्दछन् । यहाँको प्राकृतिक वन जंगल सदावहार छ । यो जंगलमा जंगली केराहरु, थाकलहरु, बनतरुलहरु लगायत जात जातका बोट विरुवाहरु हेर्न पाइन्छ । यो तालसम्म पुग्न शिद्धार्थ लोकमार्गको २४ माइल भन्ने ठाउँबाट डेढ घण्टा जति उकालो हिँडेपछि पुग्न सकिन्छ भने झुम्सा कुसुमघाटबाट २ घण्टामा पुग्न सकिन्छ । जाँदा उकालो भए पनि पसिना थुप्रै बगे पनि अग्लो भागमा रहेको तालमा पुग्दा शिखरको सुशीत्तल वातावरणले यात्रुलाई आनन्दित बनाउँछ । प्राकृतिले आफै डाँडाको टुप्पोमा ५ हेक्टर जतिको जग्गामा पाला जस्तो ताल बनाएर बर्षातको पानी जम्मा गरेर यसखालको सुन्दर ताल निमार्ण गरेको छ । बर्षातको पानी जम्मा हँुदा यस्तो ताल निमार्ण हुन सक्छ भने घरघरमा टंकी बनाएर बर्षातको पानी जम्मा गर भनेर यो तालले सिकाएको अनभूत हुन्छ । कात्र्तिके पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ । दिउँसोमा बोका, हाँस, कुखुरा जस्ता पशुपन्छि र लिंगा ध्वजा पतका लिएर सत्यवती तालमा जाने र पूजा अर्चना गर्ने चलन छ । स्थानीय लोकगीत गाएर मनोरञ्जन मनोरञ्जन पनि त्यतिकै गरिन्छ । सत्यवती माईको कान बहिरो छ भन्ने विश्वास भएकोले भक्तजनहरुले तालका मरे वरिपरि चिच्चाएर बर माग्ने चलन छ । ए सत्यवती माई ! आगामी बर्ष मेरो एउटा घोर्ले छोरो जन्मियोस तिमीलाई झक्कले बोको चढाम्ला, ए सत्यवती माई मेरो सौतालाई ठहरै मारीदेऊ, ए सत्यवती माई ! यस सत्यवती मेरो माइलो छोराले धनसारको मैनखाबामा बसेर महि पारेको देख्न पाम मैले बोेको चढाम्ला जस्ता वर माग्ने चलन छ । २ वटा बर माग्न हुँदैन भन्ने भएकोले माइलो छोराले घनसारको मैन खाबामा बसेर महि बारेको देख्न पाउँ भन्ने बरले कम्तीमा तिनतले घर धानको धनसार तिनवटा छोरा समेतको वर मागेको देखिन्छ । ग्रामीण लोक संस्कृति अध्ययन गर्नेका लागि यो क्षेत्र अति महत्वपूर्ण छ । यस तालबाट २ घण्टा उकालो हिँडेपछि कौडेलेकको काखमा रहेको पेन्गुइन गार्डेन हेर्ने हो भने दार्जिलिङ्गको मानव निर्मित रकगार्डेनलाई विर्साउने छ । यहाँ नेपालको राष्ट्रिय चरा डाँफेको बसोबास स्थल पनि हो । यो कौडेलेकमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछ । यसलाई डाँफे संरक्षण क्षेत्रको रुपमा विकास गर्नु जरुरी छ । यस तालको वरिपरि ठूला ठूला रुखहरु र झारपातहरु र चढाएका लिंगा र ध्वजा पतकाहरु दक्षिणा पैसाहरु तालमै जाने र हालसालै छेउमा निमार्ण गरिएको मन्दिरका कारण ताल पुरिदै गएको छ । तालको संरक्षणमा राज्य र समुदायको ध्यान जान जरुरी छ ।

सुकेताल : महाभारत पर्वत श्रृङ्गखला अन्र्तगत दोभान गाविस वडा नं ९ स्थित यो ताल सुकेतालको नामले चिनिन्छ । यो पाल्पाको दोस्रो ठूलो ताल हो । मानव अतिक्रमण भएपछि यसको नाम सुकेताल रहन गएको हुनुपर्छ । सुकेतालको शिरमा पाटन छ भने पाउमा पासकुण्ड रहेको छ । करिव ३ हेक्टर क्षेत्रफलमा अबस्थित यो तालमा हाल ३ किलोवाट विद्युत उत्पादन गरिएकोले साँच्चैको तालमा परिणत भएको छ । यस आसपासका जंगलमा लुइँचे, मृगहरु, कालिजहरु, भालुहरु, चितुवाहरु र स्यालहरु लगायतका विभिन्न जातका जीवजन्तुहरु हेर्न पाइन्छ । सिद्धार्थ लोकमार्गको दोभानबाट अढाई तीन घण्टाको पैदल यात्रामा पुग्न सकिने यो तालसम्म जानका लागि दोभान कचल मोटरबाटो बनेपछि पास्कुण्डसम्म गाडीमा जान सकिने भएकोछ । पास्कुण्डबाट डेढ घण्टाको उकालो हिँडेपछि यस तालमा पुगिन्छ । मगर जनजातिको बसोवास गर्ने सुकेताल गाउँ हो । पास्कुण्ड फाँट र उता बडहरेतिर बाह्मण जातिको समेत बसोवास हुन थालेपछि विभिन्न सांस्कृतिक विशेषताले युक्त हुन गएको छ । त्यहाँ गएर तराईलाई हेर्दे पहाडको आनन्द लिन सकिनेछ । यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । सुकेतालको नजिकै सिद्धार्थ राजमार्गको पारिपट्टि दोभान ७ विजुली बाँधदेखि माथिको खोल्सामा २०३८ साल ताका अनुसन्धान गर्दा १करोड १० लाख वर्ष पहिला आदि मानव रामपिथेकसको बंगारो फेला परेको थियो । यो पनि दर्शनीय छ ।

प्रभास ताल : तानसेन नगरपालिका अन्र्तगत वडा नं. ११ प्रभासमा रहेको यो ताललाई कमलपोखरी पनि भनिन्छ । कमलको फूलै फूलले ढाकिएको भएर यो ताललाई कमल पोखरी भनिएको हो । सिद्धार्थ लोकमार्गसंग जोडिएको यो ताल क्षेत्र सत्यवती तालभन्दा ठूलो आकारको देखिन्छ तर यसको क्षेत्रफल करिब ३५ रोपनी जग्गा जिविसको स्वामित्वमा रहेको छ । यो प्राकृतीक ताल अतिक्रममित अबस्था रहेको छ । संरक्षणको प्रतीक्षामा छ । यो तालमा तपाई हामीले निधारमा लगाउने अक्षताको आमाधान अर्थात् प्राकृतिक धानका बोटहरु प्रशस्त मात्रामा छन् । यी टुडे धानहरु तालमा आफै उम्रने आफै फल्ने गर्दछन् । विशषज्ञहरुले बताएअनुसार यी प्रजातीका धानहरु मध्ये एउटाको नाम रफिपोगन हो । यो तालमा प्रशस्त मात्रामा जातजातका हासहरु बकुल्लाहरु, माछाहरु र अन्य चराचुरुगींहरु देख्न पाइन्छ । धार्मिक दृष्टिकोणले पनि यो तालकाको ठूलो महत्व छ । ताललाई पवित्र प्रभास क्षेत्रको रुपमा लिइन्छ । यस तालमा मणिमुकुन्द सेनले विभिन्न तीर्थ स्थलको जल ल्याएर मिसाएको हुँदा तालमा नुहाएँपछि चारधाम गए सरह हुन्छ भन्ने चलन छ । यस तालमा एकादशी पूर्णिमा औंसी जस्ता पर्वमा नुहाएर पाप पखाल्ने र ताल नजिकै रहेको सूर्यकुण्डमा जल चढाएरु सूर्यदेवसंग मनोकांक्षा पूरा गर्न बर माग्ने गरिन्छ । बाला चतुर्दशीमा यहाँको पवित्र सूर्यकुण्डमा नुहाएर सद्वीज छर्ने चलन छ । पाल्पाका सेन शासकहरु मध्ये मणिमुकुन्द सेनले स्थापना गरेको पुरानो शिवालय यही तालको पश्चिम पट्टी छ । यो पाल्पाको सबैभन्दा पुरानो शिवालय हो । तालदेखि दक्षिणतिर सुन्दर प्रभासडाँडा छ । यो डाँडामा बंशगोपालको मन्दिर छ । प्रभास शिवालय र वंशगोपाल गुम्वज शलीमा बनाएकोले पनि सेन कालीन सामाजिक कला संस्कृतिको झलक यहाँ हेर्न पाइन्छ । यस तालको पूर्वपट्टि दरबार थुम्का भन्ने ठाउँ दरबारको भग्नावशेष छ । जाडो समयमा सेन राजाहरुको राजधानी श्रीनगरबाट यही थुम्कामा सारिन्थ्यो भन्ने जन कथन छ । प्रत्येक बर्ष शिवरात्रि र तीज पर्वको बेलामा यहाँ भव्य मेला लाग्ने गर्दछ । यो तालमा ढुगा चलाउने र माछा पालन समेत गरिएको छ । यसले थप पर्यटकिय सौन्दर्य बढाएको छ । तालसंगै जोडिएको बंशगोपाल डाँडा र बगैँचा वनभोज तथा पर्यटकीय आकर्षणको रुपमा रहेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक जैविक विविधताले सम्पन्न यस तालको संरक्षण, सम्वद्र्धन र आकर्षण वृद्धिमा राज्य र समुदायले ध्यान दिन जरुरी छ साथै ताल आकारमा देखिने सम्पूर्ण सिम्सार क्षेत्रलाई तालमा विस्तार गरिनुपर्ने देखिन्छ ।

सीताकुण्ड ताल : यो ताल पूर्वी पाल्पा दर्छा गाविसको गैलुक भन्ने सुन्दर र आकर्षक डाडाँमा रहेको छ । यो ताल पनि प्राकृतीक ताल हो । यहाँ जातजातका विभिन्न बोटविरुवा तालको वरिपरि रहेका छन् । जैविक विविधताले यो ताल धनी छ ।
तालपोखरी ताल : पूर्वी पाल्पाको रामपुर वडा नं. ६ मा रहेको पोखरीको नाम तालपोखरी ताल हो । ताल आकारको जग्गा भए पनि अतिक्रमित हुँदा यो पोखरी लोप हुने अवस्थामा थियो । स्थानीय जनसमुदायले पोखरी तालको महत्वलाई हृदयंगम् गरी तालपोखरीलाई विस्तारित र व्यवथस्थित गराइएको छ । धार्मिक प्रतिष्ठान समेत गरी महत्वपूर्ण पवित्र तालको रुपमा विकास र विस्तार गर्ने योजना रहेको देखिन्छ । तालको नजिकै प्रसिद्ध धाम केलादीघाट, रामघाट र तातोपानी घाट समेत रहेका छन् ।


यी ताल बाहेक अर्गलीको कमलपोखरी, तानसेन अमरनारायण परिसरको अमरपोखरी, लगायत यस्तै गाउँ बस्ती बस्तीमा छरिएर रहेका विभिन्न साना ठूला तालपोखरीहरुले पाल्पाको आकर्षण र महत्व बढाएका छन् । आकर्षण महत्व बढाउने तालपोखरीहरु संरक्षणको प्रतिक्षामा छन् । यी सबै तालहरुको संरक्षण र सम्वद्र्धन गर्न सके पाल्पाको पर्यटनमा सहयोगी हुनेछ ।