बगनासकालीद्वारा सार्वजनिक सुनवाई

माघ २०, पाल्पा – बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम तथा आर्थिक वर्ष ०७४\७५ को प्रथम चौमासिकमा भएको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि गतिविधि सार्वजनिकरण गरेको छ ।


गाँउपालिकालाई प्राप्त ४१ करोड ३९ लाख रुपैँया बजेट मध्ये ५५ प्रतिशत बजेट कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । गाँउपालिकाको प्रथम गाँउ सभाबाट २ सय वटा योजना छनौट भएका योजना मध्य ९० प्रतिशत योजनाको सम्झौता भएर निर्माणको काम धमाधम चलिरहेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाद्वारा सञ्चालित योजनाहरु मध्ये १७ वटा योजनाहरु सम्पन्न भई अन्तिम किस्ता रकम भुक्तानी भसकेको योजना तथा प्रशासकिय अधिकृत रामचन्द्र अर्यालले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिकाले बिजुलीको गुणस्तरीय सेवाका लागि काठका पोलरहित बनाउने, खरको छानारहित घर बनाउने, आधुनिकीकरण गर्दै निर्वाहमुखी कृषिलाई व्यासायिक बनाउन पकेट प्याकेज कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाका अध्यक्ष बस्याल, उपाध्यक्ष सरस्वती चिदी, वडाअध्यक्षहरु, विषयगत विभागका प्रमुखहरुले जनताले राखेका जिज्ञासाका जवाफ दिएका थिए । जनताको जिज्ञासाको जवाफ दिदैँ जवाफकर्ताहरुले बगनासकालीलाई नमूना बनाउने योजनाका साथ काम गरिरहेको जानकारी दिएका थिए ।