यू १८ साफः भारतलाई हराउँदै नेपालले गर्यो उपाधि रक्षा

काठमाडौं– भुटानमा जारी यू १८ साफ च्याम्पियनसीपको बुधबार भएको समूह चरणको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई हराउँदै उपाधि रक्षा गरेको छ ।
भुटानको थिम्पुस्थित चाङली मिथाङ्ग रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । नेपालका दिनेश हेन्जनले खेलको पहिलो मिनेटमा पहिलो गोल गर्दै नेपाललाई सुखद सुरुवात दिलाएका थिए । उनले ३५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को जित दिलाए । 



दोस्रो हाफमा नेपालले सशक्त रुपमा रोक्दा भारतले गोल गर्न सकेन । भारतलाई पराजित गर्दै नेपाल महत्वपुर्ण ३ अंक जोड्दै तालिकाको शीर्ष टोलीको रुपमा उपाधि विजेता बनेको छ । 

बंगलादेश र नेपालको समान ९ अंक भएपनि हेट टु हेटका आधारमा नेपाल विजेता बनेको हो । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो  भने पहिलो खेलमा भुटानसँग१–० ले पराजित भएको थियो ।

तर नेपालले माल्दिभ्स र बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा आशा दिलाएको थियो । प्रतियोगितामा ५ टोलीको सहभागिता थिए ।