यू १८ साफ च्याम्पियन्स उपाधि लिएर फर्कियो नेपाली टोली

काठमाडौं– भुटानको थिम्पुमा यू १८ साफ च्याम्पियन्स उपाधि लिएर नेपाली टोली विहीबार स्वदेश फर्किएको छ । विहिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दशैंकाबेला अधिकांश काठमाडौं बाहिर गएकाले खेलाडीको भब्य स्वागत भने हुन सकेन । एन्फा पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । 



विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नु नै आफुहरुको जीत भएको प्रतिक्रिया दिए । सोही हारबाट सिक्दै थप रणनीति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको टोलीका क्याप्टेन अर्पण कार्कीले बताए । नेपाली फुटवलमा अर्को एउटा जीत हासिल गरेर नेपालीलाई ठूलो उपहार दिन सकेको उनले बताए । 

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक प्रशिक्षक भएर अन्तर्राष्ट्रिय खेल खेलाउदा प्राप्त भएको बिजयले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए । 

भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले उपाधि जितेको थियो । बुधबार भएको उक्त खेलमा दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ वर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने १८ वर्ष उमेर समूहको खेल खेलाउन थालिएको हो । 

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।